काठमाडौं, भदौ २२ – कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले छाड्ने तयारी गरेको छ। शनिवार ललितपुरको हरिसिद्धि–घुम्ती क्षेत्रमा मन्त्री रानाको सवारी साधनले ठक्कर दिँदा ११ वर्षीया बालिकालाई सामान्य चोट लागेको थियो। दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिइएको थियो।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार अहिलेसम्म कुनै उजुरी परेको छैन। “दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएका थियौं। बालिकाको उपचार सकिएपछि उनी डिस्चार्ज भइ घर फर्किएकी छन्। मिलापत्र समेत भएकोले सम्भवत आज चालकलाई छाड्ने तयारी गरेका छौं,” उनले जानकारी दिए।
दुर्घटना एमालेको विधान महाधिवेशनका लागि ललितपुर आएका मन्त्री रानाको गाडीले गरेको हो। साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाउँदा बालिकालाई ठक्कर दिइ रोक्नु नपरेको भन्दै समाजमा आलोचना भएको थियो।
प्रदर्शन र आलोचनाको दबाबपछि एमालेले बालिकाको उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएको थियो। बालिकाको उपचार ललितपुरको ग्वार्को स्थित बीएन्डबी अस्पतालमा भएको थियो र उनको सामान्य घुँडा चोट लागेको छ।



