३१ जेठ, काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणलाई सरकारको उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारेका छन्। काठमाडौंमा आयोजित विद्युतीय सवारीसाधन (इभी) र्यालीमा बोल्दै उनले जलवायु परिवर्तनको जोखिमलाई ध्यानमा राख्दै नीतिगत सुधार भइरहेको जानकारी दिए।
उनले स्वच्छ वातावरण केवल कुनै एक देशको मुद्दा नभई सिंगो पृथ्वीको साझा सरोकार भएको भन्दै, विकास र वातावरणको सन्तुलनमा आधारित रणनीति अपनाउनुपर्नेमा जोड दिए। सगरमाथा संवाद जस्ता पहलमार्फत नेपालले वातावरणीय प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायमा पुर्याउँदै आएको उनले स्मरण गराए।
अर्थमन्त्री पौडेलले विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा सरकार दृढ रूपमा लागेको भन्दै, स्वच्छ ऊर्जाको प्रयोग र नविकरणीय स्रोतहरूको विकासले दीर्घकालीन रूपमा वातावरणीय सुधार ल्याउने विश्वास व्यक्त गरे। साथै, यस्ता पहलहरूमा सार्वजनिक, निजी र नागरिक तहको सहकार्य अपरिहार्य रहेको बताए।
कार्यक्रमले वातावरणीय सचेतना र स्वच्छ प्रविधिप्रति जनताको ध्यान केन्द्रित गराउने प्रयासस्वरूप सार्वजनिक-निजी सहभागिताको राम्रो उदाहरण प्रस्तुत गरेको छ।



