काठमाडौं — प्रतिनिधिसभामा पठाउन अन्तिम चरणमा पुगेको विद्यालय शिक्षा विधेयकमा सहमति जुट्न नसक्दा विवाद चुलिएको छ। आज बिहान साढे ८ बजे छलफलका लागि बोलाइएको बैठकमा शिक्षक महासंघसँग पदपूर्तिको ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्तावमा सहमति नजुट्दा पेचिलो अवस्था सिर्जना भएको हो।
शिक्षक महासंघले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धा गर्नुपर्ने अडान राख्दै वार्ता छाडेर बाहिरिएको छ। यसैबीच, शिक्षामन्त्री रघुजी पन्तले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि बैठक स्थगित गर्ने प्रस्ताव राखे पनि सांसदहरूले आपत्ति जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सुमना श्रेष्ठ, कांग्रेसका डिगबहादुर लिम्बु, माओवादी केन्द्रका देवेन्द्र पौडेल र रेखा शर्मा, एमालेकी दीपा शर्मा र ज्ञानु बस्नेत सुवेदी लगायतका सांसदहरूले आजै विधेयक पास गर्न दबाब दिएका छन्।
यसअघि शिक्षक महासंघसँग सहमति अनुसार विधेयक असार १५ भित्र पारित गर्ने समयसीमा तोकिएको थियो, तर सहमति नजुट्दा विधेयक टुंगोमा पुग्न सकेको छैन। सांसदहरू र मन्त्रालयबीच यस विषयमा थप छलफल जारी रहने अपेक्षा छ।



