पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपालमा वामपन्थी दलहरूबीच तत्काल एकता सम्भव नरहेको स्पष्ट पारिन्। उनले वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच विश्वासको गम्भीर संकट रहेको बताउँदै जबसम्म एकअर्काप्रतिको भरोसा कायम हुँदैन, तबसम्म वाम एकताको कुरा व्यवहारिक नहुने भनाइ राखिन्।
यस्तै, जिल्ला भ्रमणका क्रममा एमालेसँग अनुमति लिनुपर्ने भन्ने टिकाटिप्पणीप्रति जवाफ दिँदै उनले आफू स्वतन्त्रपूर्वक घुम्न पाउने हैसियतमा रहेको बताइन् र एमालेसँग सोध्नुपर्ने कुनै आवश्यकता नरहेको प्रस्ट पारेकी छिन्।
अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वको पुस्तान्तरणबारे दिएको अभिव्यक्तिप्रति पनि भण्डारीले कुनै प्रत्यक्ष टिप्पणी गर्न चाहिनन्। सक्रिय राजनीतिमा फर्कने सम्भावनाबारे जिज्ञासामा उनले आफू राजनीतिक दलमा आबद्ध नरहेको र पूर्वराष्ट्रपतिको हैसियतमा राजनीतिक गतिविधिमा प्रत्यक्ष रूपमा संलग्न नहुने संकेत दिइन्।
यसै सन्दर्भमा, पार्टीभित्रको गुटबन्दी, नेतृत्व प्रतिस्पर्धा र वाम एकताबारेको बहस पनि बढिरहेको छ। भण्डारीको सक्रियता र अभिव्यक्तिलाई एमालेभित्रको शक्ति सन्तुलन र भावी नेतृत्वसँग जोडेर हेरिएको छ।



