काठमाडौं, २५ जेठ — संसदको लगातार अवरोध हटाउने प्रयास असफल भएपछि सत्तारुढ दलहरूले अब विपक्षीको सहमतिबेगरै संसद अघि बढाउने तयारी गरेका छन्। सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि सत्तापक्षका नेताहरूले यस्तो चेतावनी दिएका हुन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विपक्षीले सकारात्मक पहल नगरेको भन्दै संसद सञ्चालन अब रोकिने पक्षमा नरहेको बताए। “यदि विपक्षीले साथ दिएर प्रक्रिया अघि बढे राम्रो, नदिए पनि संसद अघि बढ्नेछ,” घिमिरेले बताए। उनका अनुसार संसद सञ्चालनमा ढिलाइ भए पनि आइतबारदेखि प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
यसैगरी, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अघिल्ला दिनजस्तो सूचना टाँस गरेर बैठक स्थगित गर्ने काम दोहोरिने नहुने बताए। उनका अनुसार अब बजेट छलफल सुरु गर्न संसद नियमित गरिनेछ।
तर विपक्षी दलहरू, विशेषगरी माओवादी केन्द्र र अन्य साना दलहरूले गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग यथावत राखेका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका मन्त्री लेखकमाथि कारबाही नहुँदासम्म संसद अवरोध जारी राख्ने उनीहरूको चेतावनी छ।
आजको प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि तय गरिएको थियो, तर बैठक समयमै सुरु हुन सकेको छैन। बजेट छलफल रोकिँदा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि असर पर्ने अवस्था देखिएको छ।



