काठमाडौं, भदौ २१ — बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति, व्यवसायी राज कुन्द्राविरुद्ध मुम्बई प्रहरीले ठुलो आर्थिक ठगी प्रकरणमा लुकआउट सर्कुलर जारी गरेको छ। दुवै विदेश आउने–जाने क्रम धेरै भएकाले अनुसन्धानमा अवरोध नहोस् भन्ने उद्देश्यले यो कदम चालिएको हो।
मामिला व्यापारी दीपक कोठारीसँग जोडिएको छ। उनका अनुसार सन् २०१५ देखि २०१६ को अवधिमा व्यापार विस्तारका नाममा शिल्पा र राजले आफूबाट करिब ६०.४८ करोड रुपैयाँ उठाएका थिए। रकम कम्पनीमा लगानी गर्ने आश्वासन दिइए पनि पछि व्यक्तिगत खर्चमा प्रयोग भएको आरोप लगाइएको छ।
कोठारीले सुरुवाती रूपमा करिब ३२ करोड रुपैयाँ हस्तान्तरण गरेका थिए भने पछि थप किस्ताबन्दीमा रकम बुझाएका थिए। उनले उल्लेख गरेअनुसार, यो रकम ऋणका रूपमा ब्याजसहित फिर्ता गर्ने सहमति भए पनि कार्यान्वयन भएन। यहाँसम्म कि, शिल्पा शेट्टीले व्यक्तिगत ग्यारेन्टीसमेत दिएको उनले दाबी गरेका छन्। तर, पछि उनी निर्देशक पदबाट राजीनामा दिएपछि परिस्थिति झनै जटिल भएको हो।
पैसा फिर्ता नपाएपछि कोठारीले गत साउनमा आर्थिक अपराध शाखामा उजुरी दर्ता गरेका थिए। रकम ठूलो भएकाले अनुसन्धान अब विशेष शाखाले गरिरहेको छ।
यसअघि पनि राज कुन्द्रा विभिन्न विवादमा तानिँदै आएका छन् भने शिल्पा शेट्टीको नाम पनि कानुनी मुद्दामा जोडिएको पहिलो पटक होइन। हाल भने दुवैजनालाई छानबिनका लागि आवश्यक पर्दा तत्कालै उपलब्ध हुने सुनिश्चित गर्न प्रहरीको तर्फबाट कडा कदम उठाइएको हो।



