काठमाडौं, २२ असार — विद्यालय शिक्षा विधेयक पारित गर्न बोलाइएको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आइतबार स्थगित भएको छ। बैठकमा शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूको मागमा अझ छलफल आवश्यक रहेको भन्दै समय माग गरेपछि विधेयकमाथि निर्णय स्थगित गरिएको हो।
विधेयक अन्तिम निर्णयको चरणमा पुगेको भए पनि शिक्षकहरूको आवधिक बढुवा लगायतका विषयमा असहमति कायमै रहेकाले मन्त्रालयले सहमतिको लागि केही समय चाहिएको जनायो।
बैठकमा सहभागी अधिकांश सांसदहरूले भने लामो समयदेखि विधेयक अल्झिरहन नहुने भन्दै तत्कालै पारित गर्न दबाब दिएका थिए। तर, सरकारले सहमतिमा पुग्न नसक्दा बैठक अघि बढ्न सकेन।
समिति सभापति अम्मर बहादुर थापाले सरकारको आग्रह अनुसार बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको घोषणा गरे। उनले सरकारले लगातार समय माग्दै आएको उल्लेख गर्दै यो कार्यशैलीप्रति असन्तुष्टि पनि व्यक्त गरे।
विधेयकमा शिक्षक बढुवाको प्रणाली, आन्तरिक प्रतिस्पर्धा र खुला विज्ञापनमा ६०/४० को अनुपात लगायतका विषयमा विवाद रहँदै आएको छ।
अब पाँच दिनभित्र सहमति गरेर समितिमा फिर्ता आउन सभापति थापाले शिक्षामन्त्रीलाई आग्रह गरेका छन्। तर, मन्त्री पन्तले सहमतिका लागि तोकिएको समयभन्दा बढी लचिलोपन देखाउन आग्रह गर्दै छलफल अझै आवश्यक रहेको जिकिर गरे।
यसअघि पनि पटक–पटक बैठक बसे पनि शिक्षक महासंघ लगायत सरोकारवालासँग सहमति जुट्न नसक्दा विधेयक अघि बढ्न सकेको छैन।



