काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिको बैठक विद्यालय शिक्षा विधेयकमा थप छलफल गर्न दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ। बिहान ८ बजे बोलाइएको बैठक शिक्षक महासंघको असहमति र शिक्षा मन्त्रालयले थप समय माग गरेपछि स्थगित भएको हो।
नेपाल शिक्षक महासंघले राहत र आन्तरिक शिक्षकलाई स्थायी गर्ने विषयमा असहमति जनाएका कारण शिक्षा मन्त्री रघुजी पन्तले महासंघसँग थप छलफल गर्न समय मागेका थिए। यसअघि विधेयकमा आन्तरिक ६० प्रतिशत र खुला ४० प्रतिशत स्थायीत्वको सहमति जुटेको थियो, तर महासंघले ७५/२५ को अनुपात लागू गर्नुपर्ने अडान राखेको छ।
शिक्षा मन्त्रालय र महासंघबीच थप छलफलपछि विधेयकलाई अन्तिम रूप दिइने तयारी भइरहेको छ। यसले विधेयक पारित प्रक्रियामा केही समय थपिने देखिन्छ।



