४ साउन, काठमाडौं — संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयकमा नेकपा एमालेका सांसदहरूले राखेको संशोधनप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गम्भीर आपत्ति जनाएका छन्।
उनका अनुसार, गठबन्धनमा रहेका दलहरूबीच पहिले नै कुलिङ पिरियड सम्बन्धी विषयमा सहमति भइसकेको थियो। तर, एमालेका सांसदहरूले त्यसविपरीत संशोधन हालेर कुलिङ पिरियड आवश्यक नरहेको प्रस्ताव ल्याउनु आपत्तिजनक मात्र नभई गठबन्धनलाई नै धोका दिएको कार्य भएको कोइरालाको भनाइ छ।
शेखर कोइरालाले कांग्रेसले यसबारे एमालेसँग आधिकारिक जवाफ माग्नुपर्ने बताएका छन्। उनले सबै दल मिलेर एमालेको संशोधनलाई असफल पार्नुपर्ने आग्रहसमेत गरेका छन्।
उनले भने, “कुलिङ पिरियड रहनेछ, कोही द्विविधामा नपरे हुन्छ। नियम नै तोडेर संशोधन हाल्नु लोकतन्त्र र सहकार्यको मर्म विपरीत छ।”
एमालेका पाँच जना सांसदले संघीय निजामती विधेयकमा कुलिङ पिरियड नराख्ने तर्कसहित संशोधन प्रस्ताव दर्ता गरेका छन्। जबकि राष्ट्रिय सभामा छलफल हुँदा उनीहरू यस विषयमा मौन रहेका थिए।
यो घटनालाई लिएर सत्तारूढ गठबन्धनभित्र पुनः तनाव सिर्जना भएको छ।



