काठमाडौँ, असार १८ — नेपाली शेयर बजारमा आजको दिन लगानीकर्ताहरूका लागि उत्साहजनक रह्यो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.४२ अंकले उकालो लाग्दै २६९४.८२ अंकमा पुग्यो, जुन पछिल्ला दिनको तुलनामा उल्लेखनीय वृद्धि हो। प्रतिशतका हिसाबले हेर्दा, बजार १.२९% ले उकालो लागेको हो।
आजको कारोबार निकै सक्रिय रह्यो। ३१७ कम्पनीहरूका करिब ३ करोड कित्ता शेयरहरू खरिदबिक्री भए, जसको कारोबार मूल्य ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढी रहेको छ। यो तथ्यले बजारमा लगानीकर्ताको चासो र सक्रियता बढिरहेको देखाउँछ।
आज सबै समूहका उपसूचकहरू सकारात्मक देखिएका छन्। जीवन बिमा समूहले सबैभन्दा बढी २ दशमलव ८३ प्रतिशतले वृद्धि गरेको छ भने निर्जीवन बिमा २ दशमलव ५१ र विकास बैंक समूह २ दशमलव ३१ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह १ दशमलव ३६, वित्त १ दशमलव ९९, होटल तथा पर्यटन ० दशमलव ७१ र जलविद्युत् समूह ० दशमलव ४७ प्रतिशतले बढेका छन्।
त्यस्तै, लगानी समूह ० दशमलव ०१, उत्पादन तथा प्रशोधन ० दशमलव ६९, लघुवित्त ० दशमलव ५६, म्युचुअल फण्ड ० दशमलव ०६, व्यापार १ दशमलव ७६ र अन्य समूह ० दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ।
आजको कारोबारमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनीका सेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले बढेका छन्। तर, ‘नौ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८’ को सेयर मूल्य सबैभन्दा बढी ३ दशमलव ३१ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
यस सुधारले बजारमा लगानीकर्ताको विश्वास बढेको र शेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ।



