काठमाडौं, साउन १ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले देशलाई असफलतातर्फ डोर्याउने काम गरिरहेको भन्दै कडा आरोप लगाएका छन्।
ललितपुरमा आयोजित ‘श्रम उत्पादनमा वाईसीएल अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले सरकार सुशासन र जनभावनाविपरीत काममा लागिरहेको भन्दै प्रतिपक्षको बारम्बारका खबरदारी पनि बेवास्ता गरिएको बताए।
प्रचण्डले अहिलेको सरकारका अधिकांश कदम भ्रष्टाचारमा लिप्त रहेको जिकिर गर्दै सरकार जनअपेक्षा विपरित गए सडकबाटै प्रतिवाद गर्ने चेतावनी पनि दिए।
देश संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले जटिल मोडमा रहेको भन्दै उनले सबैलाई श्रम, उत्पादन र सुशासनका पक्षमा दृढ भएर लाग्न आह्वान गरे।
उनले यस्ता अवस्थालाई उल्ट्याउनका लागि युवाहरूलाई संगठित गर्न आवश्यक रहेकोसमेत जोड दिए।



