काठमाडौं, २८ जेठ — संसदमा पछिल्ला केही सातादेखि जारी अवरोध अन्त्य गर्ने दिशामा सत्ता पक्ष र विपक्षी दलहरूबीच सहमतिको प्रयास तीव्र भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज वा भोलिसम्म संसद सुचारु हुने सम्भावना व्यक्त गर्दै आवश्यक छलफलहरू भइरहेको जानकारी दिएका छन्।
गृह मन्त्रालयअन्तर्गतको भिजिट भिसा अनियमितता प्रकरणलाई लिएर उठाइएको संसद अवरोध अन्त्यका लागि सरकारले संसदीय छानबिन समितिको विकल्पमाथि गम्भीर छलफल गरिरहेको बताइएको छ। आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले गृहमन्त्री रमेश लेखक स्वयं संसदमा प्रष्ट धारणा राख्ने तयारीमा रहेको बताए।
उनका अनुसार, सरकारले विपक्षीको चासोलाई सम्मान गर्दै सत्य तथ्य संसदमा राख्ने र आवश्यक परेमा छानबिन समिति गठन गर्ने प्रस्तावबारे छलफल अगाडि बढाइरहेको छ। “मन्त्रीले संसदमा सरकारको धारणा राख्नेछन् र विपक्षी दलहरूले पनि सहयोग गरेर संसद सञ्चालनमा सघाउने वातावरण बनाउने प्रयास भइरहेको छ,” गुरुङले भने।
यो संकेतले संसद अवरोध अन्त्यको सम्भावना बढेको देखिएको छ। वार्ता सकारात्मक दिशामा गएकाले संसद सुचारु भई बजेट अधिवेशनले गति लिने अपेक्षा गरिएको छ।



