काठमाडौं, असोज ६ — गण्डकी प्रदेशमा गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा ठूलो संख्यामा कैदीबन्दीहरू कारागारबाट भागेका थिए। ताजा विवरणअनुसार, आइतबारसम्ममा १,१९५ जना भागेकामध्ये ७३४ जना पुनः कारागार फर्किएका छन् भने अझै ४६१ जना फरार अवस्थामा रहेका छन्।
सबैभन्दा धेरै कैदीबन्दी कास्की कारागारबाट भागेका थिए। त्यहाँबाट ७७३ जना भाग्दा ३८१ जना मात्र फर्किएका छन् भने ३९२ जना अझै खोजी सूचीमै छन्। त्यस्तै तनहुँ कारागारमा ३२७ जना भाग्दा २७६ फर्किएर ५१ जना हराइरहेका छन्। म्याग्दीमा ७६ जना भागेकामध्ये ६७ जना फर्किए भने ९ जना अझै फरार छन्। पर्वत कारागारबाट १९ जना भाग्दा १० जना फर्किएर ९ जना अझै लापत्ता रहेका छन्।
यसका अतिरिक्त, कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतबाट ८३ जना थुनुवा फरार भएका थिए। प्रहरीका अनुसार उनीहरूको खोजी पनि भइरहेको छ। त्यस्तै, सराङकोटस्थित बाल सुधारगृहबाट १०६ जना बालबन्दी भागेका थिए, जसमध्ये ४६ जना मात्र फर्किएका छन्।
प्रहरीले जनाएअनुसार केही कैदी र थुनुवा आफैं कारागार फर्किएका छन् भने केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको छ। बाँकी फरारलाई नियन्त्रणमा लिन प्रहरीले चाँडै विशेष सुरक्षा अपरेशन सञ्चालन गर्ने तयारी गरेको छ।
यो घटनाले गण्डकी प्रदेशका कारागारहरूको सुरक्षा प्रणालीबारे गम्भीर प्रश्न उठाएको छ। कारागार व्यवस्थापन विभाग र प्रहरी दुवैले भागेकाहरूमाथि नियन्त्रण पाउन समुदायको सहयोग पनि मागेका छन्। स्थानीयलाई भागेका कैदी वा थुनुवा देखिए तुरुन्त खबर दिन आग्रह गरिएको छ।



