२७ जेठ, काठमाडौं — जापानी वैज्ञानिकहरूले समुद्री पानीमा छिटो घुल्ने नयाँ प्रकारको प्लास्टिक विकास गरेका छन्, जसले समुद्री प्रदूषण कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। रिकेन सेन्टर फर इमर्जेन्ट म्याटर साइन्स र टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पेट्रोलियम–आधारित परम्परागत प्लास्टिकको शक्ति राख्दै, नुनको सम्पर्कमा आएपछि आफ्ना मूल कम्पोनेन्टहरूमा टुक्रिने नयाँ सुप्रामोलेकुलर पोलिमर तयार पारेका हुन्।
यो नयाँ प्लास्टिक गैर–विषाक्त, आगो प्रतिरोधी र कार्बन डाइअक्साइड उत्सर्जन नगर्ने विशेषता बोकेको छ। यसले नाइट्रोजन र फस्फोरस जस्ता तत्वहरू उत्सर्जन गर्छ, जुन समुद्री सूक्ष्मजीव र बिरुवाहरूले सजिलै अवशोषण गर्न सक्छन्। तर, अनुसन्धान टोलीले यसलाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने चेतावनी पनि दिएको छ, किनभने यी तत्वहरूले तटीय पारिस्थितिक प्रणालीमा पोषक तत्वको अत्यधिक मात्रा पुर्याएर अल्गल ब्लुम्स जस्ता समस्या निम्त्याउन सक्छन्।
यस अनुसन्धानले माइक्रोप्लास्टिकको खतरालाई कम गर्ने दिशामा ठूलो प्रगति गरेको छ। माइक्रोप्लास्टिक, जुन पाँच मिलिमिटरभन्दा साना प्लास्टिकका टुक्राहरू हुन्, विश्वका विभिन्न स्थानहरूमा जस्तै मारियाना ट्रेन्चदेखि सगरमाथासम्म फेला परेका छन्। यी प्लास्टिकका कणहरूले मानव स्वास्थ्य, समुद्री जीवजन्तु र समग्र पारिस्थितिक तन्त्रमा गम्भीर असर पुर्याइरहेका छन्। वैज्ञानिकहरूले यस समस्यालाई विश्वव्यापी आपतकालको रूपमा लिने र समाधान खोज्न जोड दिएका छन्।
यस नयाँ प्लास्टिक विकासले समुद्री प्रदूषण नियन्त्रणमा नयाँ आशा जगाएको छ र वातावरणीय संरक्षणका लागि महत्वपूर्ण कदम सावित हुने अपेक्षा गरिएको छ।



