काठमाडौँ, असार २० — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पणको अभाव रहेको बताएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले सरकारी निकायमा सुशासनको कमी रहेको र कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम नगरेको टिप्पणी गरे।
नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाल वायुसेवा निगमको कार्यक्षमता र जनशक्ति व्यवस्थापनमा समस्या रहेको बताए। सांसदहरूले निजी एयरलाइन्सहरू थोरै जनशक्तिमा पनि लाभमा रहेको तर सरकारी वायुसेवा घाटामा जानु कति उचित हो भन्ने प्रश्न उठाएका थिए।
जवाफमा मन्त्री पाण्डेले ग्राउन्ड ह्यान्डलिङजस्तो सेवाका कारण नेपाल एयरलाइन्समा धेरै जनशक्ति आवश्यक पर्ने बताए। तर उनले खास चुनौती जनशक्तिको संख्याभन्दा पनि उनीहरूको कार्यसमर्पणमा रहेको भन्दै सरकारी कर्मचारीहरू पर्याप्त प्रतिबद्ध नभएको उल्लेख गरे। निजी क्षेत्रले कम स्रोतमा पनि दक्षतापूर्वक सेवा दिइरहेको उदाहरण दिँदै उनले सरकारी प्रणालीमा सुधारको आवश्यकता औंल्याए।
उनका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वार्षिक ९५ लाख यात्रु आवतजावत गर्छन् र नेपाल एयरलाइन्सले हिमालय एयरलाइन्ससहित अधिकांश उडान सेवाहरूको ग्राउन्ड ह्यान्डलिङको जिम्मा लिएको छ। यस्ता कार्यका लागि ठूलो जनशक्ति चाहिन्छ, तर त्यही जनशक्ति प्रभावकारी नहुनुले चुनौती थपिएको उनले जनाए।
मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमको सेवा शर्तसम्बन्धी विनियमावली निर्माण भइरहेको जानकारी पनि दिए। आवश्यकभन्दा बढी जनशक्ति राखेर आर्थिक भार सिर्जना नहोस् भन्नेमा सरकार सचेत रहेको र सुधारका लागि गृहकार्य भइरहेको उनको भनाइ थियो।



