काठमाडौँ, असार ५ — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले दिगो विकास र तय गरेका विकास लक्ष्यहरू हासिल गर्न सरकार दृढतापूर्वक लागिपरेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले दिगो विकासका लागि ठूलो मात्रामा लगानी आवश्यक रहेको बताए र त्यसका लागि सरकारले वैकल्पिक विकास र वित्तीय विधेयक संसदमा पेश गरेको जानकारी दिए।
अर्थमन्त्री पौडेलले विदेशी लगानी र विकास सहायता परिचालनमा देखिएका चुनौतीहरूलाई ध्यानमा राख्दै सरकारले विकास वित्तको आवश्यकतालाई पूरा गर्न विधेयक ल्याएको बताए। साथै, वैदेशिक सहायता परिचालनलाई प्रभावकारी बनाउन ‘वैदेशिक सहायता परिचालन नीति २०८२’ जारी गरिएको र लगानी मैत्रीपूर्ण वातावरण बनाउन निजी क्षेत्रसँग सहकार्यमा कानुन सुधार गरिएको उनले उल्लेख गरे। यसले वैदेशिक लगानी र निजी लगानी दुवैलाई आकर्षित गरी पूर्वाधार र आर्थिक क्रियाकलापमा वृद्धि गर्ने अपेक्षा गरिएको छ।
पौडेलले नेपालको निर्यात क्षमता बढाउन उत्पादन र उत्पादकत्वमा सुधार, व्यापार विविधीकरण, बौद्धिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन, साथै दुईपक्षीय र बहुपक्षीय व्यापार सम्झौताहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। उनले जलवायु परिवर्तनसँग जुध्न र हरित अर्थतन्त्र विकास गर्न विश्वव्यापी जलवायु कोषहरूमा पहुँच कायम गर्नुपर्नेमा जोड दिए। यसका लागि उच्च लागत र प्राविधिक दक्षता आवश्यक पर्ने भएकाले नेपाललाई विकास साझेदार र विश्व समुदायको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
सरकारको यी प्रयासहरूले नेपालको आर्थिक विकासलाई दिगो र समावेशी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।



