काठमाडौं, भदौ २९ – यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण अनिश्चितकालका लागि रोकिएको जानकारी दिएको छ।
विभागका अनुसार, भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा कार्यालय संरचनामा भएको तोडफोड, आगजानी र चोरी/लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन, सर्भर लगायतका अत्यावश्यक सामग्रीहरूमा व्यापक क्षति पुगेको छ। यस कारण हाल सेवा सञ्चालन असम्भव भएको विभागले जनाएको छ।
सवारी चालक अनुमतिपत्रका साथै विद्युतीय सवारी साधन दर्ता (भीम) सम्बन्धी सबै सूचना प्रविधि प्रणाली पनि बन्द रहेको छ। विभागले आगामी सूचना नभएसम्म यी सेवाहरू उपलब्ध नहुने स्पष्ट पारेको छ। नागरिकहरुलाई आवश्यक प्रक्रियाहरूका लागि धैर्य राख्न अनुरोध गर्दै, हालको विषम परिस्थितिमा प्रणालीको सुरक्षाको लागि सुरक्षा उपायहरू अघि बढाइने पनि सूचनामा उल्लेख गरिएको छ।




