राष्ट्रियसभा सदस्य डा. अञ्जान शाक्यले कृषि क्षेत्रको समग्र विकासका लागि उत्कृष्ट कृषि केन्द्र (एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स) स्थापना गर्नुपर्ने सुझाव दिएकी छन्।
उनले शुक्रबार संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेटमा धारणा राख्दै छलफलका क्रममा माटोको गुणस्तर परीक्षण, बीउको गुणस्तर सुधार, उचित बाली छनौट, बीउ उपचार र सङ्कलन प्रणालीलाई व्यवस्थित गर्दै कृषि प्रणालीलाई व्यवसायीकरण र आधुनिक बनाउने आवश्यकतालाई जोड दिएकी छन्।
डा. शाक्यका अनुसार यस्तो केन्द्रले वैज्ञानिक, प्राध्यापक, कृषि विज्ञ, इन्जिनियर, उद्यमी, विद्यार्थी र किसानलाई रोजगारीका अवसर प्रदान गर्नेछ र नेपाललाई निर्यातमुखी कृषि राष्ट्र बनाउन मद्दत गर्नेछ। उनले युवाहरूलाई रोजगारी दिन नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिनुपर्ने पनि बताइन्।
युवालाई स्वरोजगार र स्टार्टअपमा जोड्ने विषयमा अघिल्लो बजेटका पहललाई उनले सकारात्मक बताउँदै, स्टार्टअप अनुकूल नीतिगत सुधार, कर छुट तथा वैकल्पिक लगानी माध्यमको विकास गर्न आवश्यक रहेको बताइन्।
उनले हाल नेपालमा ५०० भन्दा बढी स्टार्टअप दर्ता भइसकेको र आगामी समयसम्म १० हजार स्टार्टअप र १०० भन्दा बढी युनिकर्न कम्पनी दर्ता हुने अपेक्षा रहेको उल्लेख गरिन्। यसले ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने सम्भावना रहेको बताउँदै, एन्जल इन्भेस्टर, भेन्चर क्यापिटल, क्राउडफन्डिङ र प्राइभेट इक्विटीजस्ता आधुनिक लगानी मोडेलहरूको उपस्थिति आवश्यक रहेको बताइन्।



