काठमाडौं, भदौ १ — आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अंकले घटेर २७६१ दशमलव २२ को स्तरमा पुगेको छ। यस दिन बजारमा ३१७ कम्पनीका करिब दुई करोड ५ लाख कित्ता शेयर ८६ हजार ६६९ पटक खरिद-बिक्री भएका छन् र कुल कारोबार रकम करिब ७ अर्ब ७३ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।
सबै समूहका उपसूचकहरुमा गिरावट देखिएको छ। बैंकिङ समूह ०.०३ प्रतिशतले, विकास बैंक ०.५१ प्रतिशतले, वित्त समूह ०.९३ प्रतिशतले, होटल तथा पर्यटन ०.२१ प्रतिशतले, जलविद्युत् ०.७७ प्रतिशतले, लगानी ०.८३ प्रतिशतले र जीवन बिमा ०.७१ प्रतिशतले घटेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूह १ प्रतिशत, लघुवित्त १.३१ प्रतिशत, म्युचुअल फन्ड ०.१० प्रतिशत, निर्जीवन बिमा ०.६८ प्रतिशत, व्यापार १.६४ प्रतिशत र अन्य समूह १.३४ प्रतिशतले घटेको छ।
आरबिबी म्युचुअल फन्ड–१ को शेयर मूल्य सबैभन्दा बढी ७.९३ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी घटेको शेयर लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रतिशतले घटेको छ।
बजार घट्दा पनि कारोबार रकम बढेको छ। अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ७ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ। अपर स्याङ्गे हाइड्रोपावर, कालिका पावर, अपर हेवाखोला, मनकामना इन्जिनियरिङ र नेपाल रिपब्लिक मिडियाका शेयर मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
उता, सम्पदा लघुवित्त, ट्रेड टावर, ग्रिन डेभलपमेन्ट बैंक, एनआईसी एसिया बैंक, सान्भी इनर्जी, महिला लघुवित्त र स्वेतगंगा हाइड्रोपावरका शेयर मूल्यमा गिरावट देखिएको छ। दिनको सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, नेपाल रिपब्लिक मिडिया, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट रहेका छन्।



