९ साउन, काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धुम्रपान नियन्त्रण गर्न नयाँ आर्थिक ऐनमार्फत कडा कदम चालेको छ। अबदेखि सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येकपटक ५०० रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।
महानगरको हालै सम्पन्न नगरसभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि पारित गरिएको आर्थिक ऐनमा यो व्यवस्था गरिएको हो। नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सार्वजनिक ठाउँमा अत्यधिक धुम्रपान हुने गुनासा बढेपछि यस्तो निर्णय लिइएको हो।
पाण्डेले भने, “सार्वजनिक स्थलमा धुम्रपान निषेधको नियम भए पनि हटलाइनमा धेरै गुनासा आएपछि जरिवाना प्रक्रिया सुरु गरिएको हो।”
धुम्रपानसँगै अन्य व्यवहारहरूमा पनि कडाइ गरिएको छः
- अनधिकृत पार्किङ गरेमा मोटरसाइकल/स्कुटरलाई रु. १०००
- कार, जीप, भ्यान जस्ता चारपाङ्ग्रे सवारीलाई रु. २५००
- मिनीबस/मिनीट्रक जस्ता मझौला सवारीलाई रु. ३५००
- बस/ट्रक जस्ता ठूला सवारीलाई रु. ५०००
- प्रचलित कानुन विपरीत विज्ञापन गरेमा रु. १०,०००
- होडिङ बोर्डमा विना अनुमति विज्ञापन गरेमा रु. १०,००० – १ लाख
- पम्प्लेट, स्टिकर टाँसेमा रु. ५००० – ५०,०००
- पर्खाल वा खम्बामा लेख्दा रु. ५००० – ५०,०००
- विनाअनुमति बेलुन वा अन्य विज्ञापन गरेमा पनि यही जरिवाना
- सार्वजनिक स्थलमा स्वागतद्वार निर्माण गरेमा रु. ५००० – ५०,०००
- रुखबिरुवा नष्ट गरेमा रु. ५०० – ५०,०००



