काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका एलिना चौहान र समीक्षा अधिकारीद्वारा सामाजिक सञ्जालमा सुरु गरिएको ‘डिजिटल प्रतिरोध’ अभियानलाई खुलेर समर्थन जनाएका छन्। शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले यी दुई गायिकालाई ‘साहसी छोरीहरू’ भन्दै प्रशंसा गर्दै, समाजमा व्याप्त अनावश्यक आलोचना र गाली–गलौजको प्रवृत्तिविरुद्ध उनीहरूको कदमलाई सकारात्मक भनेका छन्।
प्रधानमन्त्री ओलीले समाजमा राम्रो गर्न खोज्नेहरूलाई निरुत्साहित गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै, गलत टिप्पणी गर्नेहरूलाई सार्वजनिक गर्ने एलिना र समीक्षाको शैली उचित भएको उल्लेख गरे। उनले समाजलाई विवेकशील बनाउँदै गलत बाटोमा नजान सन्देश दिनुपर्नेमा जोड दिए।
पछिल्ला दिनमा एलिना चौहान र समीक्षा अधिकारीले आफ्नो निजी जीवनबारे सामाजिक सञ्जालमा भइरहेका नकारात्मक टिप्पणी र लान्छनाविरुद्ध प्रतिरोध गर्दै आएका छन्। उनीहरूले यस्तो टिप्पणी गर्ने प्रयोगकर्ताहरूको आइडीसमेत सार्वजनिक गरेका छन्।
यस अभियानमा अभिनेता दीपकराज गिरीले पनि समर्थन जनाएका छन्। एलिनाले प्रधानमन्त्रीको समर्थनप्रति आभार व्यक्त गर्दै, यस्ता साइबर दुव्र्यवहार रोक्न कडा कानूनी व्यवस्था आवश्यक रहेको माग राखेकी छन्।
‘डिजिटल प्रतिरोध’ अभियानले सामाजिक सञ्जालमा बढ्दो साइबर दुव्र्यवहारविरुद्ध आवाज उठाउँदै सकारात्मक पहलकर्तालाई हिम्मत नहार्न सन्देश दिएको छ।



