काठमाडौं, २८ भदौ । जेनजी युवाको प्रदर्शनका क्रममा सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयमा आगजनी र तोडफोड हुँदा भवन प्रयोगयोग्य नरहेपछि मन्त्रालयलाई अस्थायी रूपमा लैनचौरस्थित केशरमहलमा सार्ने तयारी गरिएको छ।
मन्त्रालयका अधिकारीका अनुसार केशरमहलभित्र रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनलाई खाली गराएर शिक्षा मन्त्रालयलाई त्यहाँ राख्ने योजना बनाइएको हो। हाल उक्त ठाउँ साँघुरो भए पनि तात्कालिक व्यवस्थापनका लागि आवश्यक सरसफाइ सुरु गरिएको छ। सचिव चूडामणि पौडेलले केही सेवा त्यहीँबाट सञ्चालन हुने जानकारी दिएका छन्।
यसैबीच, क्षतिग्रस्त गृह मन्त्रालयलाई सिंहदरबारभित्रै रहेको पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्ने तयारी गरिएको छ। सुरुमा उक्त ठाउँमा परराष्ट्र मन्त्रालय सार्ने योजना भए पनि तत्काल गृह मन्त्रालयलाई प्राथमिकतामा राखिएको बताइएको छ।



