काठमाडौँ, साउन ३० – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अब परमाणु धम्की सहन नसक्ने बताएका छन्। शुक्रबार स्वतन्त्रता दिवसको अवसरमा दिल्लीको लाल किल्लामा आयोजित समारोहमा उनले पाकिस्तानसँगको सम्बन्धमा स्पष्ट चेतावनी दिएका हुन्।
मोदीले अपरेसन सिन्दूरमा भारतीय सेनाले देखाएको वीरताको स्मरण गर्दै भने, “भारतले अब निर्णय गरिसकेको छ कि हामी न्युक्लियर धम्की वा ब्ल्याकमेलिङ सहने छैनौं।” उनले थपे, “रगत र पानी सँगसँगै बग्दैन,” जसले भारतका नदी र जलस्रोतको सुरक्षा र नियन्त्रणको पक्षमा सरकारको दृढता देखाउँछ।
प्रधानमन्त्री मोदीले सिन्धु सम्झौता अन्यायपूर्ण भएको भन्दै भारतका किसानको हक सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “भारतका नदीको पानीले दुश्मनको खेत सिँचाइ गर्न पाउने छैन। हिन्दुस्तानका किसानको हक सुनिश्चित गर्न यो सम्झौता एकतर्फी र राष्ट्रहितविरोधी थियो।”
मोदीले राष्ट्रका जलस्रोत, सीमा सुरक्षा र राष्ट्रिय स्वार्थको रक्षा गर्न आवश्यक कदम चाल्न सरकारको तयारी रहेको बताए। उनले यस्तो कदमको उद्देश्य भारतको सुरक्षा, राष्ट्रिय अखण्डता र नागरिकको हित सुनिश्चित गर्नु रहेको स्पष्ट पारे।



