काठमाडौं, भदौ १६ – अन्तर्राष्ट्रिय बजारमै सुन महँगिँदै जाँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको छ। सोमबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३४८० अमेरिकी डलरसम्म पुगेको छ। आगामी दिनमा अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर घटाउने सम्भावनाले लगानीकर्ताको आकर्षण सुनतिर बढेको बताइन्छ। फेडले सेप्टेम्बर महिनामा ब्याजदर ०.२५ प्रतिशतसम्म घटाउने अनुमानले नै बजारमा सुनको माग उच्च भएको हो।
यससँगै अमेरिका–भारतबीचको बढ्दो व्यापार विवाद, चीन र रुससँग भारतको नजिकिएको सम्बन्ध लगायतका राजनीतिक–आर्थिक कारणहरूले पनि सुनको मूल्य बढ्न सहयोग पुर्याएको विश्लेषण गरिएको छ।
बजार विश्लेषकहरूले निकट भविष्यमै सुन प्रतिऔंस ३५०० डलरसम्म पुग्ने अनुमान गरेका छन्। अमेरिकी प्लेटफर्म क्वाइन कोडेक्स को प्रक्षेपणअनुसार डिसेम्बरसम्म यो मूल्य ३७८० डलरसम्म पुग्न सक्छ, जसको अर्थ नेपाली बजारमा सुन प्रतितोला झण्डै २ लाख २३ हजार रुपैयाँमा कारोबार हुने सम्भावना छ।
त्यसैगरी, दीर्घकालीन प्रक्षेपणअनुसार २०२६ को अन्त्यसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४३०० डलरसम्म पुग्नसक्ने अनुमान गरिएको छ। यस्तो अवस्थामा नेपाली बजारमा प्रतितोला मूल्य २ लाख ५२ हजार रुपैयाँ नाघ्नसक्ने विश्लेषकहरूको आकलन छ।
नेपालमा परम्परागत रुपमा गरगहनाको ठूलो माग हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर देखिने गरेको छ। विशेषज्ञहरूको भनाइमा विश्व राजनीतिका तनाव, ब्याजदर कटौती र लगानीकर्ताको मनोविज्ञानले सुनको मूल्य अझै उतारचढाव गर्दै बढ्ने संकेत देखिन्छ।



