काठमाडौं, असार १९ — सरकारले सुनचाँदी व्यवसायमा लगाएको करप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरू पुनः सडकमा उत्रिएका छन्। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार काठमाडौंमा प्रदर्शन गर्दै सरकारले हालै बजेटमार्फत थोपरेका करहरू खारेज गर्न माग गरे।
व्यवसायीहरूको प्रमुख मागमा २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज, भन्सार शुल्क ६ प्रतिशतमा कायम राख्नुपर्ने, र स्पष्ट नीतिगत व्यवस्था सुनिश्चित गर्नुपर्ने रहेका छन्। उनीहरूले यिनै मागसहित नाराबाजी गर्दै प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन्।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा स्पष्ट पारेअनुसार, १० लाखभन्दा माथिको कारोबारमा मात्रै लाग्ने गरी सीमित गरिएको विलासिता कर अहिले सबै मूल्यका सुनमा लागु गरिएको छ। बैंक तथा थोक कारोबारमा समेत अब २ प्रतिशत विलासिता शुल्क लाग्ने भएपछि व्यवसायी थप आक्रोशित बनेका छन्। यसले व्यवसायीहरूलाई आर्थिक भार थपेको र सुनचाँदी कारोबारमा ठूलो असर परेको उनीहरूको भनाइ छ।
यसअघि व्यवसायीहरूले ५ असारदेखि आन्दोलन स्थगित गरेका थिए, तर सरकारले माग सम्बोधन नगरेपछि पुनः आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले सरकारसँग आफ्ना माग पूरा गर्न आग्रह गर्दै आगामी दिनमा पनि आन्दोलन जारी राख्ने संकेत दिएका छन्।



