काठमाडौं, जेठ १९ — नेपाली सिनेमा इतिहासमा विशेष स्थान ओगटेको गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ पुनः एकपटक पर्दामा फर्किने भएको छ। निर्माता रोहित अधिकारीको नयाँ फिल्म ‘माइतीघर’ मार्फत यस कालजयी गीतको रि-क्रिएसन सुरु गरिएको छ।
छायांकनको प्रारम्भ आइतबारदेखि बागलुङस्थित प्रसिद्ध कालिका मन्दिर परिसरमा गरिएको हो। गीतमा उपासना सिंह ठकुरी र श्यामश्री शेर्पाको अभिनय तथा नृत्य समावेश गरिएको छ। गीतमा ५० भन्दा बढी कोरस कलाकारको सहभागिता पनि देख्न पाइनेछ।
५८ वर्षअघि २०२३ सालमा प्रदर्शनमा आएको माइतीघर फिल्मबाट चर्चित भएको यो गीत अहिले पनि जनप्रिय छ। मूल गीतमा सञ्जिवनीको स्वर, किरण खरेलको शब्द र जयदेवको संगीत रहेको थियो। यसपटक नृत्य निर्देशन कमल राईले गरेका छन्।
नयाँ माइतीघर फिल्मलाई दशैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। मिलन तामाङको निर्देशनमा तयार भइरहेको यस फिल्ममा धीरज मगर, प्रकाश सपुत, केदार घिमिरे (माग्ने बुढा), युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायत कलाकारको अभिनय रहनेछ।
फिल्मको छायांकन बागलुङसहित म्याग्दीको ताकम, धारापानी र दरबाङ गाउँमा गरिएको हो। रोहित अधिकारीसँगै रविन शेरचन र धीरज तामाङ फिल्मका लगानीकर्ता हुन् भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता हुन्।
यो फिल्मले नेपाली सिनेमा प्रेमीलाई पुरानो स्वादमा नयाँपन दिन खोजेको छ।



