काठमाडौं, १० भदौ – सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि उखु किसानलाई अनुदान भुक्तानीका लागि ७५ करोड ४९ लाख रुपैयाँ निकासा गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार यो रकम विभिन्न ८ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानलाई उपलब्ध गराइनेछ।
किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँको दरमा अनुदान पाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन्। तर सरकारले निकासा गरेको रकमको आधार प्रतिक्विन्टल ३५ रुपैयाँ रहेको छ। पाण्डेले भने, “यो रकम निकासा भइसकेको छ र किसानहरूसँग वार्ता जारी छ। वार्तामा सहमति भए अनुसार थप व्यवस्था हुनेछ।”
सरकारको यो कदम आन्दोलनरत किसानहरूको मागलाई आंशिक रूपमा सम्बोधन गर्ने प्रयासको रूपमा हेरिएको छ।



