काठमाडौं, असार १९ — बिहीबार नेप्से परिसूचक ९.१४ अंकले बढ्दै २७०३ मा पुगेको छ, जसले सेयर बजारले २७ सय अंक पार गरेको छ। बजारमा ९ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा केही कम हो।
आजको कारोबारमा फाइनान्स समूहमा विशेष आकर्षण देखिएको छ। पछिल्ला दिनमा कमजोर प्रदर्शन गर्दै आएको फाइनान्स समूह आज ४.०९ प्रतिशतले उकालो लागेको छ। नेपाल फाइनान्सको मूल्य १० प्रतिशतले, खानीखोला हाइड्रोपावरको ७.१७ प्रतिशतले र समृद्धि फाइनान्सको ७.०८ प्रतिशतले बढेको छ। बीमा समूहहरूमा पनि उल्लेख्य वृद्धि देखिएको छ। जीवन बीमा २.६२ र निर्जीवन बीमा २.२४ प्रतिशतले बढेका छन्।
बैंकिङ, विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य समूहमा पनि सामान्य वृद्धि भएको छ, भने व्यापार, माइक्रोफाइनान्स, लगानी, हाइड्रोपावर र होटल तथा पर्यटन समूहमा केही गिरावट देखिएको छ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा बुटवल पावर, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, राधि विद्युत् र एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहे। कुल १२२ कम्पनीको मूल्य बढ्दा १२५ कम्पनीको मूल्य घटेको छ।



