काठमाडौँ, साउन २२ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा नयाँ सडक क्रान्तिको आवश्यकतालाई जोडदार रुपमा औंल्याउँदै आफूले उक्त आन्दोलनको नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन्।
अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा उनले देशमा अर्को ठूलो क्रान्ति नआएसम्म गुणात्मक विकास सम्भव नहुने धारणा राखेका छन्।
दाहालले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिता स्थापना भए पनि मुलुकमा अझै नयाँ आन्दोलनको आवश्यकता छ। म नयाँ आन्दोलनको नेतृत्व गर्ने उद्देश्यका साथ जनतामाझ पुगेको छु। मैले सशस्त्र क्रान्ति होइन, तर सडकबाट ठूलो क्रान्ति नभएसम्म पुराना सोच र व्यवस्थामा परिवर्तन आउने छैन।’
उनले देशको कर्मचारीतन्त्र र न्यायालय प्रणालीमा पनि गहिरो सुधार र रूपान्तरण आवश्यक रहेको बताए। दाहालले भने, ‘ब्युरोक्रेसी, न्यायपालिका र पुराना राजनीतिक दलका सोचमा क्रान्ति ल्याउन सकेका छैनौं। हामीले परम्परागत जकडानहरू तोड्न बाँकी छ।’
उनको भनाइले नेपालको वर्तमान राजनीतिक र प्रशासनिक संरचनामा व्यापक सुधारको आवश्यकता स्पष्ट हुन्छ, जसका लागि नयाँ आन्दोलन अपरिहार्य छ भनी उनले जोड दिएका छन्।



