असार १७, नयाँ दिल्ली — भारतको तेलाङ्गाना राज्यको संगारेड्डी जिल्लामा रहेको एक औषधि उत्पादन गर्ने कारखानामा सोमबार भएको ठूलो विस्फोटमा परेर अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
जिल्ला दमकल प्रमुख बी. नागेश्वर रावका अनुसार मृतकमध्ये २३ जनाको पहिचान भइसकेको छ भने अन्यको खोज र पहिचान कार्य जारी छ। अझै २४ जना बेपत्ता छन्, जसको खोजीमा उद्धार टोली खटिएका छन्। विस्फोटपछि कारखानाको ठूलो भाग भत्किएको छ। घटनामा ३५ जना घाइते भएका छन् र ५७ जनालाई सुरक्षित उद्धार गरिएको छ।
स्थानीय अधिकारीहरूले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाएका छन्। प्रारम्भिक अनुमान अनुसार स्प्रे ड्रायरमा दबाब बढ्दा विस्फोट भएको हुन सक्ने बताइएको छ। घटनामा परेका धेरै कामदारहरू ओडिसा, उत्तर प्रदेश लगायतका अन्य राज्यका आप्रवासी मजदूर रहेको जानकारी प्राप्त भएको छ।
तेलङ्गानाका मुख्यमन्त्री ए. रेवन्थ रेड्डीले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम बनाएका छन् भने उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ। विस्फोटपछि आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षाका लागि खाली गराइएको छ।
यो दुर्घटना भारतको औषधि उद्योगमा सुरक्षा मापदण्डको पालना नहुँदा हुने दुर्घटनाहरूको श्रृंखलामा अर्को दुःखद घटना बनेको छ।
