काठमाडौं, ३० असार — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा हुने प्रतिनिधिसभा निर्वाचनअघि नै सरकारको नेतृत्वबाट राजीनामा दिने घोषणा गरेका छन्। आइतबार झापाको बिर्तामोडमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आगामी एक वर्षभित्र सरकार सञ्चालन गरेर आफू पद हस्तान्तरण गर्ने स्पष्ट संकेत दिए।
उनका अनुसार, सरकारमा एमालेको नेतृत्व विकास र जनसेवाका लागि आएको हो र उनले एक वर्षमै धेरै काम गरेको दाबी पनि गरे। तराईको हुलाकी सडक र चुरे क्षेत्रको मदन भण्डारी राजमार्गजस्ता योजनाहरू आफ्नै पहलमा अघि बढेको उनले बताए।
ओलीले एमालेविरुद्ध चलिरहेको ‘षड्यन्त्र’प्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाए। उनले भने, “एमालेलाई टिक्नै नदिने रणनीतिमा चारैतिरबाट घेराबन्दी भइरहेको छ।”
एमालेबिनाको नेपाल असम्भव रहेको बताउँदै ओलीले पार्टीलाई अझ सुदृढ बनाएर जनताको विश्वास जित्ने अठोट व्यक्त गरे। झापा भ्रमणका क्रममा उनले आधा दर्जनभन्दा बढी विकास योजनाहरूको उद्घाटन गरेका छन् र आइतबार साँझ काठमाडौं फर्किने कार्यक्रम छ।



