काठमाडौं, २१ असार — नेपालले एसीसी यू-१६ इस्ट जोन कप २०२५ को उपाधि आफ्नो नाममा लेखाएको छ। असार २१ गते सम्पन्न फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जित्यो।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। जोय थापाले संयमित ब्याटिङ गर्दै अविजित २४ रन बनाएर टोलीलाई जितसम्म पुर्याए। बलिङतर्फ नेपालका लागि अभय यादव र सुशिल बहादुर रावलले समान ३-३ विकेट लिए। शुभम खनालले २ र कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो। सिंगापुरका रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए भने रिहान नाइकले १५ रनको योगदान दिए।
नेपालले यस प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो। समूह चरणमा पनि नेपालले सिंगापुरलाई हराएको थियो। सन् २०२३ को विजेता रहेको नेपालले यस पटक पनि उपाधि रक्षा गर्न सफल भयो।
