सिन्धुली — मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्। साउन १८ गते भएको उक्त दुर्घटनापछि बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ।
खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई विपरीत दिशा (काठमाडौँबाट ओखलढुङ्गातर्फ) जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएको थियो। ठक्करपछि नियन्त्रण गुमाएर कार सडकबाट करिब ३० मिटर तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर कारसहित तीन जना नदीमा बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा:
- दिलकुमार लामा (सिन्धुपाल्चोक)
- गणेश थापा, २८ वर्ष (गोलञ्जोर गाउँपालिका–१, सिन्धुली)
- अन्य १ जना (परिचय नखुलेको)

घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली उद्धारका लागि खटिएका छन्।
प्रहरीले ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।



