काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४ अंकमा पुगेको छ। बजारमा दशैं प्रभाव देखिएको छ, जसका कारण कारोबार रकम ५ अर्ब २९ करोडबाट घटेर ४ अर्ब १२ करोडमा सीमित भएको छ।
आज ५३ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत रुपमा हेर्दा होटल तथा पर्यटन समूह ०.८५ प्रतिशतले बढेको छ, तर अन्य समूहको परिसूचक घटेको छ। बैंकिङ ०.७३, विकास बैंक १.१३, हाइड्रोपावर ०.९६, लगानी १.९०, जीवन बीमा ०.५२, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा १.५१ तथा व्यापार समूह १.६५ प्रतिशतले घटेका छन्।
तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ जसमा माथिल्लो मैलुङखोला जलविद्युत्, सिटी होटल र हिमस्टार ऊर्जा कम्पनी समावेश छन्। आज बढी कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र शिवम् सिमेन्ट रहेका छन्।
बजारमा चाडपर्वको तयारी र पैसाको व्यवस्थापनका कारण खरिदकर्ता कम सक्रिय रहेका कारण सेयर बजारमा गिरावट आएको विश्लेषकहरूले बताएका छन्।