काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रण गर्न दसैँलगत्तै १० लाख डोज हैजा खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ। यो अभियान पर्सा र बाराका प्रभावित स्थानीय तहहरूमा केन्द्रित हुने छ। अभियानको तयारीका क्रममा खोप दसैँअघि नेपाल आइपुग्ने र बिदा सकिएलगत्तै वितरण सुरु हुने बताइएको छ।
खोप एक वर्षभन्दा माथिका सबै व्यक्तिलाई दिइनेछ, तर उच्च सङ्क्रमण भएका, ज्वरो वा झाडापखालासँग पीडित बिरामीहरूले खोप लिन पाउने छैनन्। खोप वितरण विद्यालय, कलेज, कार्यालय, घरदैलो र स्वास्थ्य संस्थाहरू मार्फत गरिनेछ। यस खोपको आपूर्ति सरकारले नभई अन्तर्राष्ट्रिय अनुदानमार्फत गरिएको हो, जसमा आइसीजी, गाभी, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र रेडक्रस/रेड क्रिसेन्ट महासङ्घ संलग्न छन्।
पर्सामा एक महिनाभन्दा बढी समयदेखि हैजाको प्रकोप जारी रहेको छ, तर यसको स्रोत अझै पत्ता लाग्न सकेको छैन। दूषित पानी र खानेकुराबाट रोग फैलिने भए पनि पानीमा हैजाको ब्याक्टेरिया पत्ता लगाउन चुनौतीपूर्ण भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि कपिलवस्तुमा फैलिएको हैजाका कारण सात जनाको मृत्यु भएको थियो र त्यस बेलामा पनि खोप अभियान सञ्चालन गरिएको थियो।