१२ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले निजी विद्यालयको सञ्चालन प्रणालीमा आमूल सुधार आवश्यक रहेको बताएकी छन्। उनले शिक्षालाई व्यापारिक लाभको साधन बनाउने प्रवृत्तिको कडा विरोध गर्दै, निजी विद्यालयहरूलाई दीर्घकालीन रूपमा गैरनाफामूलक मोडलमा लैजानुपर्ने धारणा व्यक्त गरिन्।
प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिमा बोल्दै श्रेष्ठले भनिन्, “शिक्षा जुत्ता बेचेजस्तो व्यापार होइन। संविधानले शिक्षा क्षेत्रमा देखाएको भावना अनुसार हामीले अघि बढ्नुपर्छ।”
उनको प्रस्ताव अनुसार, निजी विद्यालयलाई तत्काल बन्द नगरी, निश्चित मापदण्ड र समयसीमा अन्तर्गत सुधार गर्दै जानुपर्छ। उनले १५ वर्षको अवधिमा निजी विद्यालयलाई राष्ट्रियकरण नगरीकन, सामाजिक उद्देश्यमा आधारित गैरनाफामूलक बनाउने रणनीति अघि सारेकी छन्।
उनको भनाइ अनुसार, यस संक्रमणकालीन प्रक्रियाका लागि स्पष्ट नीति, समय सीमा र सरकारी निगरानी अपरिहार्य हुनेछ। साथै, शिक्षा क्षेत्रमा संवैधानिक भावना अनुसार नचल्ने हो भने संविधान नै पुनरावलोकन गर्नुपर्ने उनको टिप्पणी थियो।



