काठमाडौं, २२ असार — प्रदीप खड्का मुख्य भूमिका निर्वाह गरेको नेपाली साइन्स फिक्सन फिल्म ‘एक्लो’ डिसेम्बर २०२५ मा प्रदर्शन हुने निश्चित भएको छ। फिल्मको टिजर सार्वजनिक गरिएको छ, जसमा कलाकारहरूको लुक्स र कथाको झलक देखाइएको छ। यो फिल्म भविष्यको पृथ्वी र अन्तरिक्ष यात्राको काल्पनिक कथा प्रस्तुत गर्दछ।
फिल्ममा दीया पुन, विजय लामा, बेनिशा हमाल, कविता नेपाली, जेमी बेकन लगायतका नेपाली र बेलायती कलाकारको सहभागिता रहेको छ। निर्देशन प्रदीप शाहीले गरेका हुन् भने फिल्म बेलायत र नेपालको सहकार्यमा निर्माण भइरहेको हो।
‘एक्लो’ को कथा सन् २०३० मा फैलिएको घातक भाइरसपछि मानिसहरूले पृथ्वी छाड्नुपरेको काल्पनिक भविष्यमा आधारित छ। त्यसको ६० वर्षपछि बेलायती अन्तरिक्षयात्री हिमालय क्षेत्रमा आकस्मिक रूपमा अवतरण गर्छन्, जहाँ उनीहरूले पहाडभित्र लुकेको एउटा रहस्यमय सहर र पौराणिक संरक्षकसँग सामना गर्छन्। यही पात्रको भूमिकामा प्रदीप खड्का देखिन्छन्।
फिल्मको पोस्ट-प्रोडक्सन हाल बेलायतमा भइरहेको छ, र यसलाई एउटा श्रृंखलाको पहिलो भागको रूपमा निर्माण गरिएको जनाइएको छ। यसअघि ‘एक्लो’ लाई कान्स फिल्म फेस्टिभलको मार्केट सेग्मेन्टमा समेत प्रस्तुत गरिएको थियो।
फिल्मप्रति उत्सुकता टिजर सार्वजनिकसँगै बढेको छ, र यो नेपाली साइन्स फिक्सन विधामा नयाँ प्रयोगको थालनी मानिएको छ।



