काठमाडौं, साउन ७ — तीजको रौनक सुरु भइसकेको छ, र सोही अवसरमा गायिका तथा गीतकार रमा कार्कीको नयाँ तीज गीत “तीजको पार्टीमा” सार्वजनिक भएको छ। यो गीतले खासगरी महिलाहरूको तीजको उमङ्ग, उत्सव र नाचगानको झल्को दिन खोजेको छ।
गीतमा अभिज्ञा घिमिरेको सुमधुर स्वर सुन्न सकिन्छ भने संगीतमा चर्चित संगीतकार महेश खड्काले मिठास भरिदिएका छन्। म्यूजिक नेपालले यो गीत सार्वजनिक गरेको हो।
म्युजिक भिडियोमा लोकप्रिय मोडल अञ्जली अधिकारीको साथमा सज्जु बुढाथोकी, सोनम चौधरीलगायतका कलाकारहरूको जीवन्त अभिनय र धमाकेदार नृत्य हेर्न सकिन्छ।
भिडियो निर्देशन मिनाक्षी कोइरालाले गरेकी हुन् भने नृत्य संयोजन प्रशान्त मगरको रहेको छ।
“तीजको पार्टीमा” ले आधुनिक शैलीको संगीत र परम्परागत तीज संस्कृतिको संयोजनमार्फत सबै उमेरका दर्शक-श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।



