काठमाडौँ, साउन ३० – राष्ट्रियसभाको शून्य समयमा विभिन्न सांसदहरूले कृषक, ज्येष्ठ नागरिक, स्वास्थ्य, सामाजिक प्रथा र कारागार सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद गोपीबहादुर सार्की अछामीले देशमा वार्षिक १५ लाख मेट्रिक टन मल आवश्यक भए पनि हाल तीन लाख मेट्रिक टन मात्र उपलब्ध हुने र पाँच लाख मेट्रिक टन मल अवैध रूपमा भित्रिने तथ्याङ्क सार्वजनिक गर्दै कृषकलाई समयमै मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई आग्रह गरे।
सांसद सुमित्रा वीसीले बर्खायाम सकिन लाग्दा पनि रोपाइँ नसकिएको र प्रतिकिसान २५ किलो मल दिने भनिए पनि धेरै किसान खाली हात फर्किनुपरेको भन्दै दीर्घकालीन समाधान खोज्न माग गरिन्।
युवामा बढ्दो मानसिक स्वास्थ्य समस्याबारे सांसद इन्दिरादेवी गौतमले बेरोजगारीलाई मुख्य कारण बताउँदै यसतर्फ राज्यको ध्यान आवश्यक रहेको उल्लेख गरिन्। सांसद जगप्रसाद शर्माले आयुर्वेदिक शिक्षण अस्पतालमा २०२९ सालदेखि उपचार सेवा सुरु भए पनि अहिलेसम्म दरबन्दी नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको भन्दै यसमा पहल गर्न आग्रह गरे।
सांसद तुलसाकुमारी दाहालले मधेस प्रदेशमा दाइजो प्रथा र बालविवाह अझै कायम रहेको बताउँदै तत्काल प्रभावकारी कदम चाल्न माग गरिन्। सांसद मायाप्रसाद शर्माले ज्येष्ठ नागरिकले आफ्नै बासस्थानबाट भत्ता लिन सक्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।
कैलाली कारागारको अवस्थाबारे सांसद शारदादेवी भट्टले १४० जनाको क्षमता भएको कारागारमा चार/पाँच सय कैदी राखिएको बताउँदै त्यस्तो भीडभाडले समस्या बढाउने भन्दै देशभरका कारागारको स्तरोन्नति गर्न जोड दिइन्।



