काठमाडौँ, साउन ३१ – अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपालले बंगलादेश ‘ए’ टोलीसँग पराजित भएको छ। यो नेपालको सिरिजमा लगातार दोस्रो हार हो। पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।
शनिबारको खेलमा बंगलादेशले जितका लागि दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५४ रनमै अल्पायोध भयो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ५९ रन बनाउँदा आसिफ शेखले २८ रन र लोकेश बमले १५ रन योगदान गरे। कप्तान रोहित पौडेलले १० रन जोडे।
बलिङतर्फ बंगलादेशका राकिबुल हसनले तीन विकेट लिए। सेफ हसन, रिपोन मण्डल र मृत्युन्जय चौधरीले समान एक/एक विकेट लिए। बंगलादेशले २० ओभरमा छ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो। ओपनर जिशाद आलमले ७१ रन र अफिफ होसेनले अविजित ४८ रन बनाए।
नेपालका लागि रिजन ढकालले दुई विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए। नेपालले आफ्नो दोस्रो खेलमा पराजय भोग्दा सिरिजमा जितका लागि अझ चुनौतीपूर्ण स्थिति सिर्जना भएको छ।



