काठमाडौं, १६ भदौ – एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण खेल्न थाइल्याण्डका तीन विदेशी खेलाडी नेपाल आइपुगेका छन्। ललितपुर क्विन्स टिमका लागि अनुबन्ध भएका यी खेलाडीहरू वारान्या श्रीलाओङ (आउटसाइड हिटर), पत्राथिप सान्त्राकुन (सेटर) र दारिन पिन्सुवान (आउटसाइड हिटर) हुन्।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ललितपुर क्विन्सका पदाधिकारीहरूले स्वागत गरेका छन्। साविक उपविजेता ललितपुर क्विन्समा राष्ट्रिय टिमकी लिबेरो सलिना श्रेष्ठ मार्कीको रूपमा खेल्नेछिन्। टिममा संगम महतो, लक्ष्मी चन्द, सलिना बुढा मगर, सुनिता राई, निशा चौधरी, सृष्टी खड्गी र भावना डाँगी पनि छन्।
प्रतियोगिता यही भदौ २० देखि पोखरामा सुरु हुँदैछ। यस संस्करणमा विदेशी खेलाडीको सहभागिताले लिगलाई अझ प्रतिस्पर्धात्मक र रोचक बनाउने अपेक्षा गरिएको छ।



