काठमाडौं, असोज ४ — मकवानपुरको भीमफेदी कारागारबाट जेन-जी आन्दोलनको समयमा पर्खाल भत्काएर भागेका कैदीबन्दीमध्ये ५७ जनाले आफैं कारागारमा फर्किएका छन्। २४ भदौमा ‘क’ र ‘ख’ ब्लकबाट छुट्टाछुट्टै भागेका ४४० कैदीबन्दीमध्ये हालसम्म सुरक्षा निकायको सक्रियतामा धेरैलाई पक्राउ गरिएको छ।
कारागार प्रमुख सुवास पौडेलका अनुसार शुक्रबार साँझसम्म नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको सहायतामा १८६ जना कैदीबन्दी कारागारको नियन्त्रणमा फर्केका छन्। तर, २५४ जना कैदीबन्दी अझै फरार रहेका छन्। यस्तै, अन्य कारागारबाट भागेका ६१ कैदीबन्दी पनि भौतिक नियन्त्रणका लागि भीमफेदी कारागारमा ल्याइएको छ। हाल १,०६६ जना क्षमतामा राखिएको कारागारमा ८६१ कैदीबन्दी मात्र उपस्थित छन्।
२४ भदौमा ‘क’ ब्लकबाट २६० र ‘ख’ ब्लकबाट १८० कैदीबन्दी पर्खाल भत्काएर भागेका थिए। भाग्ने क्रममा कारागार भित्र सुरक्षाकर्मी र कैदीबन्दीबीच करिब चार घण्टासम्म झडप भएको थियो। यस क्रममा नेपाली सेना र सशस्त्र प्रहरी परिचालित थिए।
सुरक्षा निकायहरूले बाँकी फरार कैदीबन्दीको खोजी र नियन्त्रणमा ल्याउने काम तीव्र बनाएको जनाइएको छ।



