काठमाडौं, जेठ २५ – काठमाडौंको बौद्धस्थित ‘तारागाउँ नेक्सट’मा विश्व वातावरण दिवसको अवसर पारेर सुरु भएको कला प्रदर्शनीले जलवायु संकटबारे सन्देश दिने उद्देश्य राखेको छ। ‘एट द टिपिङ पोइन्ट : आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ शीर्षकमा आयोजित प्रदर्शनीले वातावरणीय समस्या र मानवीय संवेदनशीलताबीचको सम्बन्धलाई कलामार्फत उजागर गरेको छ।
सगरमाथा नेक्सटको आयोजनामा र सर्राफ फाउन्डेसनको सहकार्यमा सम्पन्न प्रदर्शनीमा १२ जना नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारको सहभागिता रहेको छ। प्रदर्शनीलाई चर्चित भारतीय कला इतिहासकार अर्शिया लोखान्डवालाले संयोजन गरेकी हुन्।
प्रदर्शनीमा चित्र, मूर्तिकला, ध्वनि, भिडियो निबन्ध, जीवन्त प्रस्तुति लगायतका विविध माध्यममार्फत जलवायु परिवर्तन, उपनिवेशवादी सोच, सांस्कृतिक लोप, र वातावरणीय सन्तुलनबारे धारणा व्यक्त गरिएको छ।
विशेष प्रस्तुति स्वरूप, कलाकार सलिल सुवेदीको ‘अर्थ इमर्जेन्स’ मा रातो माटो प्रयोग गरेर भूमिसँगको सम्बन्ध व्यक्त गरिएको छ। जोआना मोलको ‘४००४’ मा डिजिटल उत्पादन प्रक्रियाले कीराको अस्तित्वमा पार्ने असर देखाइएको छ। यस्तै, सौर्गङ्गा दर्शनधारीले नेवारी चाड योमरीमार्फत खाद्य संस्कृति र प्रकृतिको सम्बन्धको चित्रण गरेकी छन्।
प्रदर्शनी तीन महिना चल्नेछ र यसले नेपालजस्ता हिमाली राष्ट्रमा जलवायु परिवर्तनको गहिरो प्रभावबारे चेतना जगाउन, र कलालाई सामाजिक संवादको माध्यम बनाउने प्रयास गरेको छ। आयोजकका अनुसार, प्रदर्शनीले ‘पृथ्वीसँगको सम्बन्ध पुनः परिभाषित’ गर्ने उद्देश्य राखेको छ।



