२८ जेठ, काठमाडौं — हालै सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा दाँत सेतो बनाउने विभिन्न घरेलु उपाय र उत्पादनको प्रचार व्यापक देखिएको छ। यस्ता ट्रेन्डहरूले छिटो र सस्तोमा दाँत चम्किलो बनाउने दाबी गर्छन्, तर डेन्टल विशेषज्ञहरूका अनुसार, यी विधि र उत्पादनले दाँतको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्।
दन्त विशेषज्ञ डा. नियुक्ति अर्जेल भन्छिन्— यस्ता उत्पादनमा रहेको केमिकलले दाँतको बाहिरी सुरक्षा तह (इनामेल) खिइने जोखिम हुन्छ। जब इनामेल क्षति हुन्छ, दाँत झन् पहेँलो देखिन सक्छ। त्यसैले, चिकित्सकको सल्लाहबिना यस्ता उत्पादनको प्रयोग गर्नु उपयुक्त छैन। उहाँका अनुसार, सुरक्षित रूपमा दाँत सेतो बनाउने उपायहरूमा स्केलिङ, पोलिसिङ, र चिकित्सकको निगरानीमा गरिने ब्लिचिङ पर्छन्।
मुख्य जोखिमहरू:
- टिकटकमा देखाइने धेरै उत्पादन र विधिमा बेकिंग सोडा, हाइड्रोजन पेरोक्साइड, लेमन जुस जस्ता घरेलु सामग्रीको प्रयोग गरिन्छ, जसले दाँतको इनामेल क्षय गर्न सक्छ। इनामेल क्षय हुँदा दाँत झन् पहेँलो देखिन सक्छ, संवेदनशीलता बढ्छ र कीरा लाग्ने सम्भावना उच्च हुन्छ।
- कतिपयले दाँतको सतह आफैं फाइल गर्ने जस्ता अति खतरनाक उपाय पनि देखाएका छन्, जसले दाँतको संरचना नै बिगार्न सक्छ।
- यस्ता घरेलु उपायले गिजा सुन्निने, रगत बग्ने, मुख गन्हाउने जस्ता समस्या निम्त्याउन सक्छन्।
- केही उत्पादन वा विधिले मुखको ब्याक्टेरिया र यीस्टको सन्तुलन बिगारेर ‘ब्ल्याक हेरी टङ’ जस्तो समस्या समेत ल्याउन सक्छ।
दाँतको स्वास्थ्यका लागि सुझाव:
- दिनमा दुई पटक फ्लोराइडयुक्त टुथपेस्टले दाँत माझ्नुहोस्।
- जिब्रो सफा गर्नुहोस् र डेन्टल फ्लस प्रयोग गर्नुहोस्।
- नियमित रूपमा दन्त चिकित्सकसँग जाँच गराउनुहोस्।
- घरेलु उपाय वा अनलाइन ट्रेन्डमा देखाइने उत्पादन प्रयोग गर्दा सावधानी अपनाउनुहोस्।
टिकटक र अन्य सामाजिक सञ्जालमा देखाइने दाँत सेतो बनाउने ट्रेन्ड आकर्षक देखिए पनि, यी उपायले दाँत र मुखको स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ। दाँतको सौन्दर्य र स्वास्थ्यका लागि प्रमाणित र सुरक्षित उपाय मात्र अपनाउनु उपयुक्त हुन्छ। साथै, सुपारी, छुर्पी, वा गुट्खा जस्ता कडा वा सुर्तीजन्य खानेकुराले दाँत कमजोर बनाउने र क्यान्सरसम्मको जोखिम बढाउने भएकाले तीबाट टाढा रहन चिकित्सकले सुझाव दिएका छन्।



