काठमाडौँ, असार ३ — इरान र इजरायलबीचको युद्ध तेस्रो दिनमा प्रवेश गरिसकेको छ, र स्थिति दिनानुदिन गम्भीर बन्दै गएको छ। इजरायली मिसाइल आक्रमणका कारण इरानको राजधानी तेहरानमा २२० जनाको मृत्यु भएको बताइएको छ। यसैबीच, तेहरानमा कार्यरत नेपालीहरूले आफूहरू त्रासमा जीवन बिताइरहेको बताएका छन्।
तेहरानस्थित एक विदेशी दूतावासमा ८ वर्षदेखि काम गर्दै आएका सागर पौडेलका अनुसार हाल तेहरानमा १२ जना नेपाली छन्, जो मुख्यतः विभिन्न विदेशी दूतावासहरूमा सहायकका रूपमा कार्यरत छन्। उनले भने, “हामी बसेको ठाउँमा सिधै मिसाइल खस्ने अवस्था छैन तर नजिकै मिसाइल आक्रमण भइरहेको छ।”
पौडेलका अनुसार, विदेशी नागरिकहरू इरानबाट बाहिरिनुपर्ने अवस्था आएमा आफूहरू पनि त्यसअनुसार योजना बनाएर अघि बढ्ने तयारीमा छन्। तर अहिलेका लागि उनीहरू दूतावास क्षेत्रमै सीमित रहेका छन् र अत्यावश्यक कामबाहेक बाहिर निस्कँदैनन्।
सबैभन्दा चिन्ताजनक कुरा, इरानमा लुक्नको लागि सुरक्षित बंकर वा आश्रयस्थलको अभाव छ। “ठूला सेल्टरहरू छैनन्,” पौडेल भन्छन्, “कतिपय मानिसहरू जमिनमुनि रहेका मेट्रो स्टेशनहरूमा गएर सुरक्षित बस्ने गरेका छन्, तर हामी त्यता गएका छैनौं।”
हाल अधिकांश आक्रमण रातको समयमा भइरहेको हुँदा दिनको समयमा केही चहलपहल देखिए पनि जनतामा गहिरो त्रास व्याप्त छ। नेपालीहरू एकआपसमा सम्पर्कमा छन् र स्थानीय परिस्थितिबाट बच्नको लागि सचेत रहेका छन्। उनीहरू नेपाल सरकारका इरानी अवैतनिक महावाणिज्यदूतसँग पनि निरन्तर सम्पर्कमा रहेको जनाएका छन्।



