काठमाडौं, असार ३१ — अखिल नेपाल महिला संघ (समाजवादी) ले छाउपडी लगायतका परम्परागत कुप्रथाहरूलाई अन्त्य गर्न प्रभावकारी कानुन बनाउन सरकारसँग आग्रह गरेको छ। संघकी अध्यक्ष मुनु सिग्देलले जारी गरेको विज्ञप्तिमा, समाजमा अझै विद्यमान यी कुप्रथाविरुद्ध कडा कानुनी व्यवस्था आवश्यक रहेको बताइएको छ।
हालै कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका-१ निगालीमा ३० वर्षीया कमला आउजी छाउगोठमा सर्पले टोकेर मृत्यु भएको घटना उल्लेख गर्दै, संघले यस्ता दुखद घटनाहरू दोहोरिन नदिन प्रभावकारी कानुनको आवश्यकता औँल्याएको छ।
मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १६८ उपदफा (३) अनुसार छाउपडी प्रथा गैरकानुनी र भेदभावपूर्ण व्यवहारका रूपमा लिइएको छ। महिलाको महिनावारी वा सुत्केरी अवस्थाको बेला उनीहरूलाई छाउगोठमा राख्नु, छुवाछुत वा अन्य अमानवीय व्यवहार गर्नु कानुनले निषेध गरेको छ। तर पनि, विशेषगरी सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा छाउपडी प्रथा अझै जारी रहेको छ।
अखिल नेपाल महिला संघले यस्तो परम्परागत कुप्रथा अन्त्य गर्न कडा र प्रभावकारी कानुन बनाउन सरकारसँग पुनः जोड दिएको छ।





