काठमाडौं, भदौ ८ — वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह गत आर्थिक वर्ष २०८१/८२ मा अभूतपूर्व रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १९.२ प्रतिशतले धेरै हो ।
अघिल्लो आर्थिक वर्ष १४ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । त्यो वर्ष पनि १६.५ प्रतिशतको वृद्धि भएकोमा यो वर्षको वृद्धिदर अझै उच्च देखिएको छ ।
नेपाल राष्ट्र बैंकले दिएको विवरणअनुसार, २०८२ असार महिनामा मात्रै एक खर्ब १८ अर्ब ११ करोड रुपैयाँको विप्रेषण आएको छ । अघिल्लो वर्षको असार महिनामा यो आँकडा करिब एक खर्ब १७ अर्ब ७८ करोड थियो ।
अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । समीक्षा वर्षमा १६.३ प्रतिशतले बढेर कुल १२ अर्ब ६४ करोड अमेरिकी डलरसम्म पुगेको छ । गत वर्ष यसमा १४.५ प्रतिशतको वृद्धि भएको थियो ।
समीक्षा अवधिमा कुल द्वितीयक आय पनि बढेर १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ, जुन अघिल्लो वर्ष १५ खर्ब ७१ अर्ब २४ करोड थियो ।
यससँगै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीहरूको संख्या पनि बढेको छ । २०८१/८२ मा अन्तिम स्वीकृति लिने संख्या ५ लाख ५ हजार ९५७ पुगेको छ भने पुनः स्वीकृति लिने संख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यी संख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ मात्र थियो ।



