१४ असार, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का युवा नेता तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटाले राजनीतिक नेतृत्व र राज्य संयन्त्रले अब आम नागरिकमा आशा र भरोसा जगाउन सक्नुपर्ने स्पष्ट संकेत दिएका छन्। रासससँगको संवादमा उनले समसामयिक समस्याहरूको चिरफार गर्दै सुधारका उपायहरू पनि सुझाएका छन्।
सापकोटाले संसद्मा विधायिकीभन्दा गैरविधायकी गतिविधि हावी भएको उल्लेख गर्दै, सांसदहरू आफैँ पनि सत्ताको नजिक पुग्ने र बजेट पाउने खेलमै केन्द्रित रहेको गुनासो गरे। उनले भने, “नागरिकका आधारभूत समस्या उठाउने काम दोश्रो प्राथमिकतामा परेको छ, जुन सुधारिनु पर्छ।” उनले सरकार र सांसदहरूलाई संविधान कार्यान्वयनमा गम्भीर बन्न आग्रह गरे। उनका अनुसार संघीयता कार्यान्वयनमा अझै संघीय सरकार अनिच्छुक देखिएको छ र स्थानीय तहप्रति अविश्वास कायम छ।
सापकोटाले राजनीतिक अस्थिरता हटाउन शासकीय संरचनामै पुनर्विचार गर्नुपर्ने विचार व्यक्त गरे। माओवादी केन्द्रले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणाली पुनः प्रस्ताव गरे। यसले सत्ता स्थायित्व र जवाफदेहीता सुनिश्चित गर्ने उनीहरूको विश्वास छ।
सापकोटाले अहिलेको बजेटमा रोजगारी र स्वरोजगारलाई अपेक्षित प्राथमिकता नदिएको भन्दै, विदेश पलायन रोक्न भित्रै अवसरको वातावरण बनाउनुपर्ने धारणा राखे। उनका अनुसार, योजनाविहीन र टुक्राटुक्री विकास मोडेलले दीर्घकालीन सुधार गर्न सक्दैन। उनले तातोपानी नाका पुनः सञ्चालन, जुरे पहिरो पीडितलाई राहत वितरण, र बाढीपहिरो क्षेत्रमा पुनर्वास कार्यक्रमको प्रारम्भलाई आफ्नो मुख्य पहलका रूपमा प्रस्तुत गरे। तर, सँगै उनले राज्य संयन्त्रमा दीर्घकालीन सोचको अभाव रहेको स्वीकारे।
सापकोटाले भ्रष्टाचारलाई विकासको प्रमुख बाधक ठहर गर्दै, कृषिमा आत्मनिर्भरता र किसानलाई बजार सुनिश्चित गर्ने आवश्यकतामा जोड दिए। “आर्थिक समृद्धिको मूलशक्ति उत्पादन हो, र त्यसलाई राज्यले संरक्षण र प्रवर्द्धन गर्नैपर्छ,” उनले भने।
संवादको अन्त्यमा उनले जनतालाई निराश पार्ने होइन, “देशमै भविष्य छ” भन्ने विश्वास जन्माउने वातावरण निर्माण गर्न राज्य र नेताहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन्। “विदेशमा काम गरिरहेका युवाहरू स्वदेश फर्केर केही गर्न चाहून्, त्यसका लागि अवसर तयार गरिनुपर्छ,” उनले स्पष्ट रूपमा भने।



