काठमाडौं, साउन ६ — नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरणको माग खुलेर उठेको छ। पार्टीका केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले बैठकमा ओलीले दुई कार्यकालसम्म अध्यक्षको भूमिका निर्वाह गरिसकेकाले अब नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने धारणा राखेकी हुन्।
उनले भनेकी छन्, “संगठन बलियो बनाउने गरी विधान बनाऔँ। कुनै व्यक्ति विशेषलाई हेरेर विधान नबदलौँ। अब नेतृत्व पुस्तान्तरण परिवर्तनको एउटा महत्वपूर्ण पाटो हो।” उनले पार्टीमा कोअर्डिनेसन केन्द्रदेखि आजका नेतासम्म सबैले मिलेर सहमति गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याइन्।
तिम्सिनाले पार्टीको प्रतिवेदन लेख्नसमेत नभ्याउने अवस्थालाई शोभनिय नठानेको बताइन्। मौखिक रूपमा गरिएको दाबी र प्रस्तुत विचार पनि अपूरो रहेको भन्दै उनले सुधारको माग गरिन्।
उनले विधानमा संगठित सदस्यको सदस्यता फौजदारी अभियोग नलाग्दासम्म खोस्न नपाइने प्रावधान थप्नुपर्ने प्रस्ताव राखिन्। साथै, पार्टी सधैं घेराबन्दीमा परेको भनी आरोप लगाउने प्रवृत्ति पनि उनले प्रश्न गरिन्। “सरकारमा हुँदा पनि प्रतिपक्षमा हुँदा पनि किन पार्टी घेराबन्दीमा पर्छ ? यति ठूलो संगठनात्मक शक्ति हुँदाहुँदै किन त्यसलाई तोड्न सकिएन ?” तिम्सिनाले भनिन्।
एमालेको ‘मिसन ८४’ को सन्दर्भमा उनले वर्तमान नेतृत्वको भूमिकाप्रति पनि प्रश्न उठाइन्। उनले भनिन्, “हामी ८४को कुरा गरिरहेका छौं, तर एक तिहाइ नेताहरूले अहिले नै राज्यसत्ताको अभ्यास गरिरहेका छन्। यस्तो अवस्थामा के गर्दैछौं भन्ने नै मुख्य प्रश्न हो।”



