काठमाडौं, भदौ २२ – एसवाई प्यानलले आफ्नो आईपीओ भदौ २९ देखि खुलाउने घोषणा गरेको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका नागरिक र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई प्राथमिकता दिने जनाएको छ।
कम्पनीले कुल १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्ताको ४० प्रतिशत सेयर, अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो। यसमा २ लाख ६१ हजार ६२७ कित्ता उद्योग प्रभावित क्षेत्रका लागि र ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूका लागि छुट्याइएको छ। उद्योग प्रभावित क्षेत्रको रूपमा चितवन जिल्लाको रत्ननगरपालिकाका सबै वडाहरू समेटिएका छन्।
आईपीओमा न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्मको आवेदन दिन सकिने व्यवस्था गरिएको छ। प्रभावित स्थानीयले आवेदन प्रभु बैंकका सौराहा र टाँडी शाखाबाट दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाहरूले अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको मुख्य कार्यालय काठमाडौंको तीनकुनेमा रहेको छ। रत्ननगर १४ स्थित उद्योग मार्फत कम्पनीका उत्पादनहरू करिब ५० डिलरमार्फत बिक्री हुने गरेको कम्पनीले जनाएको छ।
वित्तीय विवरणअनुसार, गत आर्थिक वर्ष २०८१/८२ सम्म कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ४२ पैसा रहेको छ। सञ्चित नाफा १२ करोड १० लाख रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।
आईपीओ बिक्री र व्यवस्थापन प्रभु क्यापिटलमार्फत हुनेछ र आवेदनको अन्तिम म्याद वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूका लागि असोज १ र स्थानीय प्रभावित क्षेत्रका व्यक्तिहरूका लागि असोज १२ सम्म तोकिएको छ।



